Bhukampa Ma Malampatti

348.00

२०७२ वैशाख १२ गतेको भूकम्पपछि लेखकले भूकम्पप्रभावित १० जिल्लाका दर्जनौं गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ९ हजारभन्दा धेरै पीडितलाई उपचार गरेका थिए । विभिन्न विकट गाउँमा न्याना कपडा वितरण, मनोपरामर्श कार्यक्रम तथा बालबालिकालाई सरसफाइ, पोषण शिक्षा तथा स्वास्थ्यका अतिरिक्त सेवा प्रदान गरेका थिए । त्यस क्रममा आफूले देखेका, सुनेका, गरेका तथा भोगेका कारुणिक अनुभूति तथा आशाको आगतलाई सजीव ढङ्गले लिपिबद्ध गरेका छन् लेखकले, यस पुस्तकमा । भूकम्पबाट सृजित अकल्पनीय अवस्था, पीडितको संवेदनशील मनोभाव तथा परकम्पको पर्वाह नगरी भूकम्पपीडित बस्तीमा गरेको यात्राको दर्पण हो, भूकम्पमा मल्हमपट्टी । जनस्वास्थ्य विशेषज्ञ रवीन्द्र समीर लघुकथा विधाका सशक्त हस्ताक्षर हुन् । ‘तेस्रो आँखा’ (२०५३), ‘पोस्टमार्टम’ (२०६२), ‘विकिरण’ (२०६३), ‘ईश्वरका कथा’ (२०६५), ‘अर्जुनदृष्टि’ (२०६७), ‘अणु र पहाड’ (२०६९), ‘व्यङ्गम् शरणं गच्छामि’ (२०७०) र ‘एकलव्य दृष्टि’ (२०७१) गरी उनका ८ ओटा लघुकथासङ्ग्रह प्रकाशित छन् । यसबाहेक समीरका ‘चाँदीको घेरा’ (मुक्तकसङ्ग्रह, २०६२) तथा ‘ग्रेटवालको ग्रेट अनुभूति’ (नियात्रासङ्ग्रह २०६६) पनि प्रकाशित छन् । समीरले पद्मश्री साहित्य पुरस्कार, युवावर्ष मोती पुरस्कार, अनेसास उत्कृष्ट पुस्तक पुरस्कार, नेपाल विद्याभूषण पदकलगायत करिब दुई दर्जन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार एवम् सम्मान प्राप्त गरेका छन् ।

X