बि.सं. १९६० मा पहिलोपल्ट छापिएको यस उपन्यासमा जोशीले नेपालका पहाडी भुभागहरुमा रेल चलेको, गाउँ–गाउँमा ट्राम कुदेको, पक्की बाटाहरुमा मोटर दगुरेको परिकल्पना गरेका छन् । उपन्यासका पछिल्ला खण्डमा हवाइजहाजको समेत प्रसङ्ग छ, जवकि हवाइजहाजको पहिलो आविष्कार नै बि.सं. १९६० मा भएको हो । सूचना र सञ्चारको खासै विकास नभइसकेको त्यो युगमा स्रष्टाले गरेको परिकल्पना साँच्चै ईष्र्यालाग्दो छ ।
पेशाले कविराज हुन् गिरिशबल्लभ । श्री ३ प्रधानमन्त्री वीर समसेरको शासनशैलीलाई कटाक्ष गर्दै लेखिएको यस उपन्यासमा परिवेशचाहिँ पश्चिमी पहाडी भूभागलाई रोजिएको छ । उपन्यास छापिँदाताकाका शासक चन्द्र समसेर र उनका अनुचरहरुको नजरमा पर्नबाट जोगिन उनले त्यो चलाखी गरेको हुनुपर्छ । कथामा गरिएको श्वैरकल्पनाको प्रचुर प्रयोगबाट उनको कल्पनाशीलता र व्यङ्ग्य चेत कति विराट थियो भन्ने अनुमान गर्न सकिन्छ । बिम्ब र प्रतीकको प्रयोगमा त अहिलेका ‘मै हुँ’ भन्नेहरुले समेत उनलाई भेट्टाउँदैनन् ।